राष्ट्र हित मन्त्र : ॐ महिंतले दुष्कृताम् राष्ट्रमेव रक्षक क्षय नम:


आजको बिचार 
जनता देशको आत्मा हुन , यिनीहरुलाई सन्तुष्ट राख्नु पर्छ | जनताको सेवा नै इश्वरको भक्ति हो | सेवा पनि निशुल्क | सेवाको अर्थ नै हो स्वार्थको त्याग |
श्री मां गुरु समूह
श्री माँ गुरु समूह श्रद्धा विश्वास भावनामा जोडीएका ब्यक्तिहरुको एक समूह हो । यस समुहका प्रमुख अवधूत मंगलधन राम ज्यूले आफ्नो गुरु-शिष्य परम्परा, साधना, धार्मिक अनुष्ठान, सामाजिक सेवा र व्यक्ति, परिवार ,देश र मानव समाजको निमित्त गर्नु भएको महत्वपूर्ण मार्गदर्शनको संक्षिप्त जानकारी याहा प्रस्तुत गरिएको छ। समाजमा ब्याप्त मानिसहरु बिचको ईर्ष्या, राग, द्वेष, घृणा, भेदभाव आदी जस्ता रोगहरुले ग्रसित व्यक्तिहरु को समस्या समाधान हेतु साधक, श्रद्धालु, उपासक, उपासिकाहरुको माग र सहयोगबाट उहांले यी तीन संस्थाहरु
- १) श्री परमेश्वरी सेवा केन्द्र ,
- २) श्री माँ गुरु नारी समूह र
- ३) श्री अघोरेश्वर मानव सेवा मण्डल को स्थापना गर्नु भयो ।
बाबाले, गुरु-शिष्य परम्पराको अनुकूलमा रहेर अघोरेश्वर भगवान रामले बताउनु भएको बिचार, अनुभव र बाटोमा हिडन बिशेष महत्वका साथ मार्ग दर्शन दिनुभएको छ । आफ्नोमानव सत्यलाई चिनाएर, आदर्श आचरणलाई अपनाउने बाटो बताउनु उहाँको महत्वपूर्ण योजना हो । अत: जसले यस समूहको बिचार मन पराउनु हुन्छ, यस मार्गमा हिंड्न् चाहानु हुन्छ, जसमा आस्था विश्वास छ र यस बारे जान्न चाहानु हुन्छ, उहाँहरुलाई यस समुहमा हार्दिक स्वागत गर्दछौं ।
शिष्यले गुरु बनाउदछ, गुरुले त गुरु नै बनाउदछन्।
आह्वान पत्र
जीव शरीरधारी साधारण मानव हुँ म । म गुरु शिष्य परम्पराको एक साधक शिष्य, जो मानव बन्ने बाटोमा मा हिँडिरहेको छु । प्रत्येक मानवमा श्रद्धा भावना र विश्वास जागृत गराई सत्कर्म, सत्मार्गको जीवनयापन गर्ने मार्गदर्शनमा प्रयासरत हु, एक असल मानव पथिक भएर । कामना छ मेरो, आजको जीवात्मा समाजले सदा आध्यात्मिक एवं परम आर्य सत्यको ज्ञानमा आधारित रहेर सनातन शश्वत धर्मको स्थापना गर्न सकोस् । यसबाट सम्पूर्ण मानव समाजले कल्याणकारी सेवा र मानव बन्ने प्रेरणाको सन्देश पाउन सकून । यसै शुभ सङ्कल्पको पूर्णताको लागि सम्पूर्ण मानव समाजसँग परामर्श, सहयोगको अपेक्षा साथमा विनम्र अनुरोध सहीत यो मेरो सङ्कल्पित अभियानको अवधारणा प्रस्तुत छ ।
यस दिव्य भूमिको तीन प्रमुख स्थलको माटोमा “माँ गुरु”को पवित्र मन्दिर निर्माण गर्ने मेरो सङ्कल्प छ । जुन मन्दिरमा प्रवेश गर्ने जो कोहिले पनि राम्रो मानव बन्नको लागि सबै सामग्री र सहयोग प्राप्त गर्न सक्ने छन् । आजको युग पीडाले ग्रसित वर्गलाई यो नै मेरो जीवनकालको अमूल्य उपहार हुनेछ । यहाँहरुको उचित सहयोग परामर्शले महत्त्वपूर्ण स्थान एवम् सम्मान पाउने छ ।
सम्पूर्ण मानव समाजबाट उचित ज्ञानवर्धक सुझाव, सल्लाह एवं आशिर्वादका साथमा मेरो सङ्कल्प पुरा हुनेछ भन्ने आशा राखेको छु । आधुनिक भौतिकवादी युग विकासमा अग्रसर सञ्चार माध्यमद्वारा यो सन्देशले जनजनमा एक शुभ जागृत अभियान फैलाओस् । आजको समाजलाई यस्तो प्रेरणामूलक अभियानहरुमा समाहित हुन् विकासशील सञ्चारमाध्यमहरुकै भूमिका प्रबल हुन्छ । तसर्थ सम्बन्धित क्षेत्रमा कार्यरत महान आत्माहरुबाट पनि मेरो सङ्कल्पित कार्यमा आ–आफ्नो तर्फबाट माध्यम अनुकुलको साथ र सहयोग अवश्य नै प्राप्त हुने छ भन्ने आशा लिएको छु । आत्मजन मित्रहरु मेरो सङ्कल्पित उद्देश्यको संक्षिप्त जानकारी यसै वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ ।
१. प्रथम प्रस्तावित पवित्र स्थल स्वरुप नेपालको राजधानी काठमाडौँ, जहाँ स्वयं देवाधिदेव महादेव श्री पशुपतिनाथ एवं माता गुह्येश्वरीको बासस्थान छ । साक्षी स्वरुपमा स्वयं केदारनाथ र माता कामाख्याको पौराणिक उदाहरण तपाईँ हामी सामु प्रष्ट छ । यसै उपत्यकाको दक्षिणपश्चिम खण्डमा अवस्थित दिव्य स्थल, भष्मेश्वर पहाडको मध्यभाग, जसमा माँ महासरस्वती, माँ महालक्ष्मी र माँ महाकालीको तीन रुपमा भव्य मूर्तिहरु विधिपूर्वक स्थापित हुनेछन् ता कि सबै प्राणीहरुको कल्याण होस् । यस मन्दिर मुनिको गर्भगृहमा जीवन्त गुरु शिष्य परम्पराको मुर्ति स्थापना गरिनेछ, जसबाट मानव समाजले असल कर्म गर्न सक्ने प्रेरणा र मार्गदर्शन पाउन सकून् ।
२. दोस्रो पवित्र स्थल स्वरूप यसै उपत्यकाको उत्तरी खण्ड शिवपुरी पहाडको मध्यभागमा अवस्थित माटोमा माताको मन्दिर स्थापना गर्ने योजना रहेको छ । जहाँ धर्तिमाता, लौकिक माता र अलौकिक माताको जागृत मूर्तिसहीत आदिशक्ति र आदिगुरु पीठको स्थापना हुनेछ । जहाँबाट हामी सबै मानवले स्वस्थ, स्वच्छ र सभ्य बन्नको लागि प्रेरणा र आशिर्वाद पाउन सक्छौँ । यी दुई मन्दिरको बीचमा पुरै काठमाण्डौ सहर रहेकोले यी दुई मन्दिरको विशेष महत्त्व रहेको छ ।
३. अर्को तेस्रो पवित्रस्थल सुनौली सिमाना नौतनवामा कल्याणमूर्ति शिव देवाधिदेव महादेवको कल्याणकारी स्वरूपको मुर्ति र शिवलिङ्गको स्थापना गरिनेछ । साथमा माता शक्तिको सानो सुन्दर मन्दिर, १०८ शिवलिङ्ग र गुरु पीठ रहनेछ । यस कार्यको लागी तत्काल परामर्शको आवश्यकता छ । नेपाल र भारतको सिमानामा बन्न लागेको यस्तो विशेष मन्दिरमा दुवै देशका महान आत्माहरुको साथ र सहयोग प्राप्त होस् भन्ने चाहन्छु । यसै क्षेत्रमा पहिलेदेखि नै माता वनौलिया माई पनि विराजमान हुनुहुन्छ । जसको उत्तर दिशामा एक माँ गुरुको स्थान छ जो सबैको श्रद्धा भावनाको प्रतिक्षामा छ । यो काम गर्ने सौभाग्य हामी सबैलाई मिलोस् । यो मेरो सङ्कल्पमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु । सबैलाई साधुवाद छ ।
“समाजमा वर्तमानको गुरु, शासक र वैद्य (डाक्टर) नै प्रमुख हुन् ।
मलाई तपाईँहरुको सहयोग यसकारण चाहिएको हो कि म ती प्रत्येक व्यक्तिसम्म पुग्न चाहन्छु, जसलाई हामीले विविध किसिमले सहयोग गर्नु पर्ने आवश्यकता देखिन्छ । गाउँघर हेरौं या शहर, हिमाली क्षेत्र होस या पहाड या तराई । हरेक घर परिवार र हरेक व्यक्ति जहाँ अशिक्षा, अज्ञानता र निम्न विचार छ ; शिक्षाको, स्वास्थ्यको, सरसफाईको चेतना छैन, सही र गलतको जानकारी छैन, उपलब्ध स्रोत साधनको उचित प्रयोगको ज्ञान छैन, उचित अनुचितको ज्ञान छैन, अनुशासनहिनता छ, जसले व्यक्तिलाई परिवारलाई, समाजलाई एउटा सभ्य मानव समाजको परिचय प्राप्त गर्नबाट टाढा राखि रहेको छ । यस्तो अवस्थाबाट ती हरेक व्यक्तिलाई, परिवारलाई वैचारिक रुपले माथि उठाउन, एक योग्य असल मानव बनाउन त्यहाँ हर प्रयास गर्नुछ । सभ्य समाज, श्रेष्ठ समाज, एक असल व्यक्ति, असल नागरिक, असल मनुष्य बन्नमा उनीहरुलाई आवश्यक हरेक साथ सहयोग दिनु छ, जसको अभावमा त्यो विचारको अभावमा त्यो चेतना, शिक्षा, ज्ञान, व्यवहार, गुणको अभावमा बाध्यतावश मुनष्य भएर पनि मनुष्य जस्तो जीवन बिताउन सकिरहेका छैनन् ।
आश्रम, मन्दिरको माध्यमबाट अध्यात्म, धर्म, मानवीय गुण, चरित्र, अनुशासन, मर्यादा, संस्कृति, परम्परा, त्याग, सेवा, परोपकार, साधना जस्ता सद्व्यवहार सद्गुणको व्यवहारिक ज्ञान दिँदै विभिन्न साहित्य मार्फत श्रेष्ठ विचार दिनु आवश्यक छ । विद्यालय, पुस्तकालय, अस्पताल आदि निर्माण गरी अभावग्रस्त क्षेत्रमा जनजनमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच पुगाउनु जरुरी छ । दुर्गमका असहाय अस्वस्थ जनमा औषधी वितरणका साथै सरसफाई तथा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु जरुरी छ । देशका कुना काप्चामा रहेका हरेक बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेर उनीहरुको उज्ज्वल भविष्यको लागि सहयोग गर्नुछ । आर्थिक अभावमा रहेका व्यक्ति, परिवारहरुलाई अनेकन सीपमूलक तालिम दिएर स्वरोजगारका लागि उत्प्रेरित गरी आवश्यक सीप, ज्ञान, प्रविधिद्वारा सहयोग गर्नु छ । कृषक दाजुभाई दिदीबहिनीहरुलाई कृषि प्रविधि, औजार, बिउँ बिजन उपलब्ध गराएर कृषि क्षेत्रमा युवायुवतीलाई समेत आकर्षित गरी बढ्दो विदेश पलायनलाई रोक्नु छ । यदि हामीले यी यावत क्षेत्रमा कार्य गरे मात्र एक सभ्य समाज, श्रेष्ठ समाजको निर्माण हुन्छ । जबसम्म हामी यी कार्य गर्दैनौ तबसम्म मानव समाजमा अनेकानेक खराबीहरुको जन्म भैरहन्छ । भयभित वातावरणको सृजना भइराख्छ ।
यस अभावलाई भावमा बदल्नको लागि हाम्रो समाजका ती विविध किसिमले अभावग्रस्त व्यक्ति परिवारहरुलाई माथि उठाएर एक शिक्षित, चेतनशील , शान्त, समृद्ध, धार्मिक, स्वस्थ, सभ्य समाज निर्माणको लागि यहाँहरु सबैको सहयोगको आवश्यकता पर्दछ । एक हातले देश बन्दैन, सयौँ हातको आवश्यकता पर्दछ । हाम्रो समाजमा यस्ता कैयन व्यक्तिहरु छन्, जोसँग ज्ञान, सीप, विचार, धन, समय त छ तर त्यसलाई अनावश्यक एवम् गलत क्रियाकलाप र गलत स्थानमा व्यर्थमा खर्च गरिरहेका छन् । यही अनावश्यक खर्च भैरहेको समय, धनलाई यस्तै असल कर्ममा, योजनामा, देश, समाजको उत्थानमा, मानवीय सेवामा खर्च गरुन्, जसले उनीहरुलाई प्रसन्नता, राम्रो स्वास्थ्य त प्राप्त हुन्छ नै साथ साथै उनीहरुको असल विचार, कार्यले धेरै जनालाई मद्दत मिल्दछ । जब हामी सही तथा असल कार्यक्रममा सहयोग गर्न थाल्दछौ तब हामीमा आफै राम्रो कर्म गर्ने प्रेरणा र मौका मिल्छ तथा राम्रो व्यक्तिहरुको सहयोग पनि मिल्दछ । यदि यस्तै असल कर्ममा जो सहयोग गर्न तत्पर हुन्छ, सहयोग गर्छ भने यदि ऊ धर्म गर्न चाहन्छ, ईश्वर देवी देवतालाई प्रसन्न गर्न चाहन्छ भने उसको इच्छा, मनोकामना अवश्य पुरा हुन्छ । किनकि सम्पूर्ण प्राणी इश्वरको सन्तान हुन् र एउटा सन्तानले अर्को सन्तानलाई मद्दत गर्छ भने त्यस्तो व्यक्ति प्रति इश्वर अवश्य नै प्रसन्न हुन्छन् । जो व्यक्ति सङ्कुचित, स्वार्थी मानसिकताबाट माथि उठेर सम्पूर्ण आत्माको सेवामा जुट्दछ भने उसैलाई आत्मानुभव पनि प्राप्त हुन्छ । साथसाथै जो निस्वार्थ भावनाले यस असल काममा सहयोग गर्दछ उसको प्रतिष्ठा, प्रसिद्धि पनि व्यापक हुन्छ । परिश्रमको धन फुल्दछ, फल्दछ तर लुटको धनले समय, स्वास्थ्य, राम्रो विचार तथा अन्य धेरै सद्गुणहरुलाई नष्ट गरिदिन्छ भन्ने कुरा अवस्य नै सम्झनुपर्दछ, जसमा सबैको हित होस्, सबैको भलाई तथा प्रसन्नता होस् ।
यसैले माथि उल्लिखित अभावलाई भावमा बदल्न जे जस्ता आवश्यक कार्य एवं उचित कार्यक्रमहरु कार्यान्वयनमा व्यक्तिगत रुपमा सम्पूर्ण रुपले आफूलाई समर्पण गर्न तयार छु । के तपाईंहरू साथ दिन, सहयोग गर्न तयार हुनुहुन्छ ? जो सहयोग गर्न, साथमा हिडन चाहनुहुन्छ या मेरो कार्य प्रति शुभकामना राख्नुहुन्छ, म सदैव उनीहरु प्रति ऋणी एवं आभारी रहनेछु । यस जीवनलाई सार्थक बनाउन यो ठुलो अवसर हामीलाई प्राप्त भएको छ । यो अवसरलाई सदुपयोग गरौँ । यस पुनित कार्यमा सहभागी हुन् चाहने तपाईँहरु सबैलाई म हृदयदेखि नै स्वागत गर्दछु । धन्यवाद ।






